सुनसरी घटनापछि कोशीका भारतसँग जोडिएका सीमा नाकामा सुरक्षा कडा ।

काठमाण्डौ / देवानगञ्ज–३ कप्तानगञ्ज घटनापछि कोशी प्रदेशका भारतसँग जोडिएका प्रमुख सीमा नाकामा सुरक्षा व्यवस्था कडा बनाइएको छ। अब भारतबाट नेपाल प्रवेश गर्ने प्रत्येक व्यक्तिले अनिवार्य रूपमा वैध परिचयपत्र (आईडी कार्ड) देखाउनुपर्ने व्यवस्था लागू गरिएको छ।
कोशी प्रदेश सरकारले बुधबार विराटनगरमा आयोजना गरेको सर्वपक्षीय बैठकमा प्रदेश प्रहरी प्रमुख डीआईजी शेखर खनालले सम्भावित घुसपैठ, अवैध हातहतियार र लागुऔषध ओसारपसार रोक्न सीमा क्षेत्रमा विशेष निगरानी बढाइएको जानकारी दिए। आवश्यकताअनुसार थप सुरक्षाकर्मी पनि परिचालन गरिएको उनले बताए।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले धार्मिक संगठनको आवरणमा केही समूह नेपाल प्रवेश गर्न सक्ने सूचना प्राप्त भएपछि सीमा नाकामा थप सतर्कता अपनाइएको र परिचयपत्रबिना प्रवेश गर्न नदिइने बताए।
गत आइतबार देवानगञ्जमा भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो।
घटनापछि विरोध प्रदर्शन र तनाव बढेपछि प्रशासनले सुनसरीसहित संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था थप सुदृढ बनाएको छ। सर्वपक्षीय बैठकले सबै पक्षलाई संयमता अपनाउन अफवाह नफैलाउन र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेको छ।

प्रतिक्रिया