
काठमाडौं । नेपाली समाजमा बढ्दो आर्थिक संकट, ऋणको बोझ र त्यसले निम्त्याएको पारिवारिक तथा मानसिक पीडालाई मार्मिक रूपमा चित्रण गरिएको ‘ऋणै ऋणमा डुबे आमा’ बोलको गीत पछिल्लो समय सामाजिक सञ्जाल, विशेषगरी टिकटकमा व्यापक रूपमा चर्चामा आएको छ।
गीतका शब्द दीपेन्द्र कुमार थापाले लेखेका हुन् भने संगीत अर्जुन पोखरेलले दिएका छन्। गीतलाई गायक थानेश्वर गौतमले भावपूर्ण शैलीमा स्वर दिएका छन्।
वास्तविक जीवनका भोगाइसँग मेल खाने विषयवस्तु समेटिएकाले गीतले छोटो समयमै दर्शक तथा श्रोतामाझ विशेष लोकप्रियता हासिल गरेको छ। सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताले यसलाई “आफ्नै जीवनको कथा बोल्ने गीत” भन्दै साझा गरिरहेका छन्।
गीतमा ऋणको भारले थिचिएका सर्वसाधारणले साहुको ऋण तिर्न नसक्दा भोग्नुपर्ने विवशता, संघर्ष र मानसिक पीडालाई संवेदनशील ढंगले प्रस्तुत गरिएको छ। यथार्थपरक कथा र भावनात्मक प्रस्तुतीका कारण गीतप्रति दर्शक–श्रोताको आकर्षण दिनप्रतिदिन बढ्दै गएको देखिन्छ।
द डिभाइन म्युजिकबाट सार्वजनिक गरिएको गीतको म्युजिक भिडियोमा हिउँवाला गौतम, आस्मा पाण्डे र रमेश विश्वकर्माको अभिनय रहेको छ। भिडियोको निर्देशन माधव शर्माले गरेका हुन्।
समसामयिक सामाजिक यथार्थलाई कलात्मक रूपमा प्रस्तुत गरिएको यस गीतले नेपाली संगीत क्षेत्रमा सकारात्मक चर्चा बटुल्दै गएको छ।


प्रतिक्रिया