
नेपाली पप संगीतका चर्चित गायक सुगम पोखरेलले लामो समयपछि आफ्ना श्रोताका लागि नयाँ सिर्जना ल्याएका छन्। उनको ताजा गीत ‘अँध्यारो रातमा’ अहिले युट्युबमा सार्वजनिक भएको छ र रिलिजसँगै गीतले राम्रो प्रतिक्रिया पाइरहेको छ।
गीतका शब्द, संगीत र र्याप अनुप महर्जनले तयार पारेका हुन्। सुरज मालीको एरेञ्ज र गिटार, साथै साजन शाहको मिक्सिङ–मास्टरिङले गीतलाई व्यावसायिक ध्वनि दिएको छ।
संगीत भिडियोमा श्रृष्टि खड्का र मान्शी शर्माले प्रेम र भावनाको कथा अभिनय गरेका छन्। उनीहरूको अभिनय र सुगमको आवाजबीचको तालमेलले भिडियोलाई अत्यन्त आकर्षक बनाएको दर्शकहरूले कमेन्टमार्फत् बताएका छन्।
गीतमा प्रयोग भएका शब्दहरू पनि अत्यन्त सभ्य र अर्थपूर्ण भएको प्रतिक्रियामा उल्लेख पाइन्छ। त्यही कारणले गीत छोटो समयमा नै TikTok र YouTube दुवैमा भाइरल बन्दै गएको छ।
सुगम पोखरेलका अन्य गीतहरू जस्तै, ‘अँध्यारो रातमा’ पनि उनको आवाजको मधुरता र संगीतको सौन्दर्यले श्रोतालाई मुग्ध बनाइरहेको छ।




प्रतिक्रिया