सागर ज्ञवालीको निर्देशनमा बनेको सिट्कम वेब सिरिज ‘लट्ठक’ युट्युबमा सार्वजनिक

काठमाडौँ । सिट्कम मेथडलाई आधार बनाएर नेपाली परिवेशमा निर्माण गरिएको वेब/टेलिभिजन सिरिज ‘लट्ठक’ ओटीटी प्लेटफर्ममा प्रदर्शन भइसकेपछि युट्युबमार्फत दर्शकमाझ सार्वजनिक गरिएको छ। सिरिजका अवधारणा तथा निर्देशक सागर ज्ञवाली हाल चलचित्र ‘मालती मंगले’ को निर्माण कार्यमा व्यस्त छन्।

विश्व रङ्गमञ्चमा विशेष महत्व राख्ने सिट्कम कमेडी विधालाई नेपाली ग्रामीण क्षेत्रका पात्रहरूमार्फत प्रस्तुत गरिएको ‘लट्ठक’ विशुद्ध मनोरञ्जनात्मक विषयवस्तुमा आधारित सिरिज हो। अन्य हास्यप्रधान टेलिफिल्म तथा सिरिजभन्दा फरक धारमा प्रस्तुत गरिएको यस सिरिजले समसामयिक सामाजिक समस्यामाथि व्यंग्यात्मक खबरदारी पनि गर्ने प्रयास गरेको छ।

निर्देशक ज्ञवालीका अनुसार ‘लट्ठक’ उनको निर्देशनमा बनेको पहिलो वेब सिरिज हो। करिब चार वर्षअघि सिरिज निर्देशन गरेपछि उनले अहिलेसम्म एक सयभन्दा बढी म्युजिक भिडियो निर्देशन गरिसकेका छन्। यो सिरिज पूर्ण रूपमा उनको आफ्नै परिकल्पनामा आधारित रहेको उनले बताए। विद्यालय जीवनदेखि नै निर्देशन यात्राको सुरुवात गरे पनि यस सिरिजलाई उनले आफ्नो औपचारिक डेब्यु निर्देशन को रूपमा मानेका छन्।

चलचित्र निर्देशन नगरी निर्माणमा किन लाग्नुभयो भन्ने प्रश्नमा ज्ञवालीले कहिलेकाहीँ सपना बोकेर अघि बढ्ने सर्जकहरूलाई सहयोग गर्नु पनि आवश्यक हुने बताए। अब भने आफू निर्देशनमै केन्द्रित हुने र दर्शकको माग आएमा सिरिजको दोस्रो सिजन (सिजन–२) पनि ल्याउने योजना रहेको उनले जानकारी दिए। साथै, केही समयमै आफ्नै निर्देशनमा नयाँ चलचित्रको घोषणा गर्ने तयारीमा रहेको पनि बताए।

सिन्धुली जिल्लाको दुधौली नगरपालिका वडा नम्बर १ र २ मा छायांकन गरिएको यस सिरिजको निर्माणमा सहयोग पुर्‍याउने सम्पूर्ण स्थानीय बासिन्दाप्रति निर्माण टिमले आभार व्यक्त गरेको छ।

‘लट्ठक’ म्युजिक नेपाल र ओरिजिनल मिडिया को प्रस्तुति हो भने अफ सिन्क फिल्म्स को सहकार्यमा निर्माण गरिएको हो। सिरिजमा सुबास गजुरेल, अभय राज बराल, शाकु शाह, कविता आले, रोकीत कार्की, रञ्जित राणा, रोहित खत्री, शिला खनाल, जीवन जंग थापा, दिवास विक्रम बोहोरा, मनिषा भुजेल, इन्द्रजित चौलागाईं, लक्ष्मण चौलागाईं, उमिषा पाण्डे, सरिता भण्डारी, रचना पौडेल, गीता खड्का, श्रेया दुलाल र केबी पौडेललगायत कलाकारहरूको अभिनय रहेको छ।

सिरिजका निर्माता साजन थापा, छायाकार नारायण जी.सी., लेखक कागी लिम्बु, सम्पादक तथा रङ संयोजक अनिल कुमार महर्जन रहेका छन्। सर्जनात्मक निर्देशक मदन घिमिरे हुन्। शीर्षक संगीत दिक्षित अधिकारी, पृष्ठभूमि संगीत आलिश कार्की, निक्सन उदय र प्रतीक थापाले तयार पारेका छन्।

ढिलै भए पनि सबैले सहज रूपमा हेर्न सक्ने माध्यम युट्युबमा सार्वजनिक गरिएको ‘लट्ठक’ ले दर्शकलाई भरपूर मनोरञ्जन दिने विश्वास निर्माण पक्षले व्यक्त गरेको छ।

New Nepali Comedy Web Series – Latthak (लट्ठक) | Episode 01 | Music Nepal

प्रतिक्रिया