
काठमाडौं ।
नेपाली चलचित्र क्षेत्रलाई प्रविधिमैत्री र आधुनिक बनाउने उद्देश्यले काठमाडौँमा ‘सिनेम्याटिक एआईः फ्रम स्क्रिप्ट टु स्क्रिन विथ आर्टिफिसियल इन्टेलिजेन्स’ विषयक दुईदिने कार्यशाला सुरु भएको छ। चलचित्र विकास बोर्ड र नेपाल एआई फिल्म एलायन्स (नाइफा)को संयुक्त आयोजनामा भइरहेको उक्त कार्यक्रममा देशभरका २०० भन्दा बढी चलचित्रकर्मी, प्राविधिक तथा सिर्जनशील व्यक्तिहरूको सहभागिता रहेको छ।
चलचित्र विकास बोर्डमा सञ्चालन भइरहेको कार्यशालाको उद्घाटन गर्दै बोर्डका अध्यक्ष दिनेश डिसीले कृत्रिम बुद्धिमत्ता (एआई)ले चलचित्र क्षेत्रमा नयाँ सम्भावना र अवसरहरू सिर्जना गरेको उल्लेख गरे। उनले एआईको विकाससँगै मानवीय सृजनशीलताको भूमिका झनै महत्वपूर्ण हुने धारणा राख्दै प्रविधि र सिर्जनशीलताको सन्तुलन आवश्यक रहेको बताए।
नेपाल एआई फिल्म एलायन्स (नाइफा)का अध्यक्ष करूण थापाले एआई प्रविधिको प्रयोगले फिल्म निर्माण प्रक्रियालाई सहज, सुलभ र लागत प्रभावकारी बनाएको बताएका थिए।
उनका अनुसार पहिले फिल्म निर्माणका लागि ठूलो लगानी, महँगो उपकरण र धेरै जनशक्ति आवश्यक पर्ने भए पनि अहिले नवीन सोच, सिर्जनात्मक आइडिया र इन्टरनेटको पहुँचले सीमित स्रोतमै पनि उच्चस्तरीय सामग्री उत्पादन सम्भव भएको छ।
कार्यशालामा सहभागीहरूलाई एआई सम्बन्धी आधारभूत शिक्षा र यसको व्यावहारिक प्रयोगबारे विस्तृत प्रशिक्षण दिइँदैछ। आइडियाबाट स्क्रिप्ट निर्माण, स्क्रिप्टबाट इमेज तयार पार्ने, इमेजबाट भिडियो उत्पादन गर्ने र अन्ततः पूर्ण चलचित्र तयार पार्ने सम्पूर्ण प्रक्रियाबारे अभ्यास गराइएको छ। साउन्ड डिजाइन, भिडियो सम्पादन, कलर करेक्सन, भिएफएक्स तथा ड्रोन क्यामेरा सञ्चालनजस्ता प्राविधिक पक्षमा पनि एआईको प्रयोगबारे जानकारी प्रदान गरिएको छ।
कार्यक्रममा नाइफाका तर्फबाट करूण थापा, शिव पुरी, मौसम पुरी र अजय शर्मालगायतका प्रशिक्षकहरूले दुई दिनसम्म सहजीकरण गर्ने जनाइएको छ।
आयोजकका अनुसार यस्ता कार्यक्रमले नेपाली चलचित्र क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन सहयोग पुर्याउने विश्वास गरिएको छ।




प्रतिक्रिया