
काठमाडौं– थापाथलीस्थित सुकुम्बासी बस्तीमा रहेका टहरा तथा अस्थायी संरचना हटाउन आज बिहानैदेखि डोजर परिचालन गरिएको छ। नेपाल प्रहरी, नगर प्रहरी तथा सम्बन्धित निकायको सक्रियतामा बस्ती क्षेत्रमा खाली गराउने अभियान सञ्चालन गरिएको हो।
बागमती किनार आसपास निर्माण गरिएका टहरा, टिनका छाना भएका अस्थायी घर तथा अन्य संरचनाहरू हटाउने कार्य तीव्र रूपमा अघि बढाइएको छ। सुरक्षाकर्मीको बाक्लो उपस्थितिबीच डोजर प्रयोग गरी एकपछि अर्को टहरा भत्काउने काम भइरहेको छ ।
अभियानका क्रममा सम्भावित अप्रिय अवस्था हुन नदिन नेपाल प्रहरी र नगर प्रहरीले सुरक्षा सतर्कता बढाएका छन्। केही स्थानीयले आफ्नो बसोबासको विकल्प माग्दै चिन्ता व्यक्त गरेका छन् भने केहीले प्रशासनको निर्णयप्रति असन्तुष्टि जनाएका छन्।
सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउने उद्देश्यले अभियान सञ्चालन गरिएको बताइएको छ। थापाथली क्षेत्रको व्यवस्थापन, नदी किनार संरक्षण तथा सार्वजनिक स्थान खाली गराउने योजनाअनुसार टहरा हटाउने काम जारी रहेको जनाइएको छ।
यस घटनाले पुनः एकपटक सुकुम्बासी व्यवस्थापन, वैकल्पिक आवास र दीर्घकालीन समाधानको विषयलाई चर्चामा ल्याएको छ।




प्रतिक्रिया